काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले यस्तो टिप्पणी गरेका हुन् ।
उनले कांग्रेस–एमालेबिच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गरे । सरकार दुई दलबिचको सम्झौताअनुसार अगाडि बढ्न नसक्दा सम्झौता पत्रमा लेखिएका बुँदाहरू मजाकजस्तो भएको उनको भनाइ छ ।
उनले देशमा आर्थिक तथा प्राकृतिक संकट हुँदा मात्र देशका दुई प्रमुख दल मिल्ने परम्परा रहे पनि वर्तमान सरकारले जनतामा कुनै उत्साह दिन नसेको बताए । नीति तथा कार्यक्रममा सरकारले संविधान संशोधन र अर्थतन्त्र सुधारको कुनै पनि कार्यक्रम नराखिएको भन्दै उनको सरकारको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै नेताहरू समेत सन्तुष्ट नरहेको बताए ।
उनले भने, ‘देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार चलाउँदा उत्साह हुनुपर्ने हो नि त्यस्तो छैन । देशमा ठुलो संकट हुँदा तथा आर्थिक वा प्राकृतिक प्रलय हुँदाखेरि गरिने प्रयोगको नतिजा के छ लगभग शून्य । सात बुँदे सम्झौतामा भनिएको थियो हामी भ्रष्टाचार गर्दैनौँ सुशासन इत्यादि । त्यो आज मजाक भइसकेको छ । आजभोलि टेलिभिजनमा कमेडी कार्यक्रमहरू चलेनन् भने कुनै मन्त्रीलाई उभ्याएर त्यो वाचन गर्न लगाइदिए हुन्छ । नीति तथा कार्यक्रममै संविधान संशोधनको एउटै बुँदा समावेश गरिएको छैन । र अर्थतन्त्रको सुधारको कुरा पनि कतै उल्लेख छैन । त्यसकारण यो दुई तिहाइको सरकारको लय र चरित्र, सामर्थ्य यस्तै नै हो त । यो नीति तथा कार्यक्रमले त्यस कुरालाई न्याय गरेको छ जस्तो लाग्छ त ? सत्तारुढ दलकै राजनीतिज्ञहरूसँग छलफल गर्दा ठुलो निराशा भएको मैले पाएको छु । अब यी खुद्रे, मसिना र परीक्षित घोषणाहरूमा नीति तथा कार्यक्रम रुमलिएको छ ।’
नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरी कार्यान्वयनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया