नीति तथा कार्यक्रम चुस्त र सही भएको एमाले सचिवालय बैठकको निष्कर्ष

लोकपथ
196
Shares

काठमाडौं । नेकपा (एमाले) ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको बताएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको निष्कर्ष निकालेको हो । 

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विगतका सरकारले ल्याउने गरेको भन्दा वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम छरितो र देशको आर्थिक अवस्थाअनुसार सही भएको बताए । उनले सचिवालय बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मक रूपमा ग्रहण गरेको बताए । 

विगतका सरकारहरूले सुरु गरेको १८ हजार आयोजनाको आर्थिक स्रोत अस्तव्यस्त रहेको भन्दै उनले स्रोत सुनिश्चित भएका आयोजना मात्रै अगाडि बढाउने गरी बजेटमा व्यवस्था गर्न सांसदहरूको सुझाव रहेको बताए । संघीय सरकारले राष्ट्रिय स्तरका रणनीति आयोजनामा मात्रै ध्यान दिएर बाँकी कामहरू प्रदेश र स्थानीय सरकारको स्वामित्वमा गर्ने गरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव आएको उनको भनाइ छ ।

उनले भने, ‘नीति तथा कार्यक्रम विगतको तुलनामा धेरै व्यवस्थित, चुस्त र दिशा निर्देशको हिसाबले पनि सही भएको बैकले निष्कर्ष निकालेको छ । त्यसलाई समर्थन गर्दै सकारात्मक रूपमा ग्रहण गर्दै नेता कमरेडहरूले आगामी बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा सुझाव दिनुभएको छ । मूलतः नीति तथा कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणामुखी होस्, विगतमा योजनाहरूको छनोट, स्रोतहरूको  विन्यास र योजनाहरूको प्रथमिकिकरणम धेरै भद्रगोल देखिएको छ । संघ सरकारसँग झन्डै १८ हजार योजनाहरू छन् र खरबौँ रुपैयाँको दायित्व बाँकी रहने गरी स्रोत सुनिश्चितताका नाममा ठेक्कापट्टा लगाएको अवस्था छ । यो अव्यवस्थालाई चिर्दै बजेट आयोस्, संघ सरकारले राष्ट्रिय स्तरका रणनैतिक कुराहरूमा बढी फोकस गरोस् बाँकी कुरा प्रदेश स्थानीय तहलाई छोडोस् भन्ने तहमा नेताहरूले विशेष जोड दिनुभएको छ ।’

उपमहासचिव ज्ञवालीले नेताहरूले उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएको बताए । किसानको आम्दानी वृद्धि हुने र नेपाललाई कृषिमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सकिने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ छ । उनकाअनुसार सूचना प्रविधिको क्षेत्रमा सम्भावनाको ढोका खोल्ने गरी बजेट ल्याउनुपर्ने सुझाव नेताहरूको छ । 

उनले भने, ‘यो बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्छ । त्यसका लागि पुष्पलाल मध्य पहाडी लोक मार्गको समानान्तर मदन, भण्डारी राजमार्गको समानान्तर कृषि उत्पादनका पकेटहरू त्यस्ता सघन क्षेत्रहरु निर्माण गर्ने र किसानहरूलाई जमिन प्रविधि बजार र बचतको इको सिस्टमभित्र ढालेर उहाँहरूको आम्दानी बढाउने र मुलुकलाई कृषिमा आत्मनिर्भर हुने गरी अगाडि बढाउनका लागि बजेट त्यसमा फोकस होस् भन्ने पनि सुझा प्राप्त भएको छ । त्यसै गरी, नीति कार्यक्रममा जेन जी पुस्तालाई  केन्द्रबिन्दुमा राखेर उद्यमशीलता उद्यमको इको सिस्टम निर्माण गर्ने भनिएको छ, त्यो कुरालाई फोकस गर्दै उहाँहरूसँगै बस्दै उहाँहरू के चाहनु हुन्छ र कठिनाइ के हो भनेर सूचना प्रविधिलाई विकासको महत्त्वपूर्ण उत्तोलकको रूपमा इनेबलरको रूपमा कसरी अगाडि बढाउन सकिन्छ उहाँहरूकै साझेदारीमा सूचना प्रविधिको जुन अथाह सम्भावना छ त्यसलाई ढोका खोल्ने गरी यो बजेटले ध्यान दिनुपर्छ भन्ने कुरामा सुझाव आएको छ ।’

उपमहासचिव ज्ञवालीले राष्ट्रिय राजनीति स्थिरताको दिशामा अगाडि बढेको तथा राजनीति खल्बल्याउने खोज्ने प्रतिगामी शक्तिहरू कमजोर बन्दै गएको बैठकको निष्कर्ष रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?