प्रधानमन्त्री र मन्त्रीहरूको वैदेशिक भ्रमणबारे संसदीय समिति अनविज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण

लोकपथ
294
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूले वैदेशिक भ्रमणबारे पूर्व जानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

विश्व समुदायमा भइरहेका कतिपय घटनाहरूमा नेपालसमेत जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराए । उनले कुनै पनि मन्त्री वा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानु पूर्व जानकारी र आइसकेपछि ब्रिफिङ गर्ने कुरालाई अनिवार्य बनाउनसमेत माग गरे ।

उनले भने, ‘मन्त्रीज्युहरुको वैदेशिक भ्रमणहरू भइरहेको छ । तर यो समितिमा त्यसको बारेमा कुनै पनि जानकारी छैन । यस कुरामा समिति र समिति सभापतिज्यूको ध्यान जानुपर्ने आवश्यकता छ । हामीले पनि ताकेता गरेनौँ होला त्यो आफ्नो ठाउँमा छ । तर जानुभन्दा अगाडि र फर्किसकेपछि बोलाउनु होला र ब्रिफिङ सुनौँला जस्तो लागिरहेको थियो । अहिले धेरै अन्तर्राष्ट्रिय घटनाहरू घटिरहेका छन् । त्यसमा कतिपय विषयहरू नेपालसँग जोडिएका पनि छन् । यी सबै कुराहरू यो समितिलाई जानकारी हुनुपर्दछ । विभिन्न ठाउँमा हाम्रो संसदीय उपसमितिको टोलीहरू जानुभएको छ । त्यस क्रममा भएको भ्रमणको विषय पनि प्रतिवेदन आउनुपर्ने आवश्यकता पर्छ । तर हाम्रा मन्त्री र प्रधानमन्त्रीहरूको विदेश भ्रमणको बारेमा समितिलाई जानकारी गराउने कुरा अनिवार्य गराउनुपर्छ । यसको आवश्यकता उनीहरुलाई पनि बोध गराउनुपर्छ ।’

उनले सौर्य जहाजको विषयमा सम्बन्धित मन्त्री र पीडित पक्षहरूबिच संसदीय समितिमा छलफल हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?