लोकतन्त्र बचाउन प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण : सभापति देउवा

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरी देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरेका छन् । 

नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । 

उनले मुलुक बाहिर रहेर पनि देश र जनताको चासो राखेको भन्दै विभिन्न कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरूको प्रशंसा गरे । उनले विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरूप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । 

उनले विदेशमा रहेका नेपालीलाई नेपालको वा सम्बन्धित देशको कानुनले पारेको समस्याका बारेमा नयाँ कानुन बनाएर समाधान गर्न प्रयास गर्ने बताए । 

उनले विदेशमा रहेर नेपाली कांग्रेससँग आबद्ध नेपालीहरूलाई पार्टीको महाधिवेशन लगायतका कार्यक्रमहरूमा प्रतिनिधित्व गराएको बताए ।  

अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उनको भनाइ छ ।

उनले भने, ‘नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको संगठनको एक अभिन्न अङ्गको रूपमा रहेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसाको  सिलसिलामा मुलुक बाहिर रहेर पनि देश र जनताको बारेमा चिन्ता व्यक्त गरिरहनुभएको छ । यो वर्गले हाम्रो समाजको जाने बुझेका शक्ति र उमेरको प्रतिनिधित्व गरेको छ । तपाईंहरुलाई पार्टीको गतिविधिमा समान रुपले प्रतिनिधित्व गराउँदै लैजाने अभिप्रायले जनसम्पर्क समितिको गठनलाई उत्तिकै महत्त्व दिएका छौँ जति देशमा पार्टी संगठनको निर्माणमा दिएका छौँ । पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्वको अलावा, समान नागरिक अधिकार दिने प्रयास गरिरहेका छौँ । तपाईँहरूले विदेशमा हासिल गरेको ज्ञान सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक र सामाजिक विकास गराउन के क–कस्ता नीतिगत परिवर्तन गर्नुपर्छ । विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व अमेरिका र भारतले पाएको छ हाम्रो केन्द्रीय सदस्यको रूपमा तर युरोप छुटेको छ । एसिया पनि छुटेको छ । आउँदो पार्टीको महाधिवेशनमा विधानलाई संशोधन गरेर तपाईँहरूको प्रतिनिधित्व सुनिश्चित गर्छौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विदेशमा रहेका शिक्षित नेपाली नागरिकले सहयोग गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?