श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली कांग्रेस गम्भीर छ : डा. शेखर कोइराला

लोकपथ
252
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसकोे १ सय ३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

उनले श्रमिकहरूकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरू सफल भएको बताउँदै श्रमिकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली कांग्रेस गम्भीर रहेको बताए । 

उनले होटेलमा कार्यरत श्रमिकहरूले १० प्रतिशतको कुरा गरेको उल्लेख गर्दै कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको बताए ।  अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबिच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताए । 

सांसद कोइरालाले भने,  ‘हामीले केही हाँसिल गरेनौँ भन्ने कुरा होइन, हामीले हाँसिल गरेका छौँ । तपाईँहरूकै अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा, तपाईँहरूको प्रयासले धेरै पहिलादेखि ०५१२/०५२ सालदेखिकै प्रयासले यो अहिले सफल भएको छ । अझ यसमा अनौपचारिक क्षेत्रलाई हामीले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्ने कुरा चुनौतीको विषय भएको छ । यसलाई हामीले अझ गम्भीर रूपमा लिएर अगाडि जानुछ । मैले त धेरै प्रयास गरेँ । नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्‍यो । तर हामीले अझ पनि श्रमिक आयोग बनाउन सकेका छैनौँ । यसको लागि नेपाली कांग्रेस सधैँ तयार रही रहन्छ । साथीहरू होटेलमा कार्यरत श्रमिकहरूले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरूले धेरै ठुलो कुरा माग गर्नुभएको छैन । कानुन बनाएर यसलाई अगाडि बढाऔँ भनेर सुप्रिम कोर्टले पनि भनेको छ । त्यसलाई नेपाली कांग्रेसले कानुन बनाउन अघि बढ्छ । अहिले विश्वकै परिस्थिति अत्यन्त नाजुक भएर गएको छ । एकातिर ट्रेड वार भइरहेको छ, विश्वका ठूला दुई आर्थिक समृद्ध भएका देशहरूको बिचमा व्यापार युद्ध चलिरहेको छ । त्यसले नेपालाई पनि असर गर्दछ । भन्ने कुरा  हामीले बुझेका छौँ ।’

सांसद कोइरालाले श्रमिकहरूले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुन नसक्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?