काठमाडौं । भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपाको शव परिवारलाई जिम्मा लगाइएको छ ।
मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्याइएको थियो ।
बिहीबार बिहान नै शव परिवारको जिम्मा लगाइएको छ । सुदीपको शव आजै बुटवल–११ मनकामनापथस्थित घरमा लगिएको छ । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले सहित शनिबार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासि बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए ।
सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् ।
सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध विच्छेद्य भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया