आईपीयूको दिगो विकास स्थायी समितिमा डा. अञ्जान शाक्य विजयी, नेपाललाई पहिलो पटकमै सफलता

लोकपथ
924
Shares

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट नेपालकी राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य विजयी भएकी छन् ।

उज्वेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा माल्दिभ्स र इरानका उम्मेदवारलाई पराजित गर्दै डा. शाक्य विजयी भएकी हुन् । सम्मेलनमा नेपालले पहिलो पटक उपस्थिति जनाएको हो । पहिलो पटकमै यो मञ्चमा नेपाललाई सफलता हात परेको हो ।

सांसद शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक छिन् । उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाइएको छ ।

सभामुख देवराज घिमिरेसहितको टोली अहिले उज्वेकिस्तानमा छ । सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?