काठमाडौं । केही दिनअघि कार्यसूचीमा रहेर पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत हुन नसकेको सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई आज बुधबार पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार, गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि आजको बैठकमा सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अहिले बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएको छ ।
यसैगरी गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने बैठकको कार्यसूचीमा उल्लेख छ । गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूचीमा छ ।
यस्तै, प्रतिनिधिसभाको बैठकका लागि सम्भावित कार्यसूचीमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने छ । यस्तै राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम छ ।
दिउँसो सवा १ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने कार्यसूची सम्भावित कार्यसूचीमा छ । बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभामा टेबुल गर्ने कार्यक्रम पनि छ ।
यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
साथै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रम पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया