पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

लोकपथ
784
Shares
फाइल तस्बिर

गण्डकी ।  पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्रे भएको छ ।

चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्रे गरिएको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए। उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुई पटकसम्म म्याद थप भएको थियो । 

पश्चिमतर्फ तनहुँमा दुई किमी सडक मात्र कालोपत्रे हुन बाँकी रहेको इन्जिनियर नेपालले बताए । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रेको काम भइरहेको उनको भनाइ छ । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र काम सक्ने लक्ष्य लिइएको इन्जिनियर नेपालले बताए ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रेको काम भइरहेको इन्जिनियर नेपालले जानकारी दिए। 

पोखरा महानगरपालिका–२७ ताल चोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रे भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा जति चार लेनको बन्ने इन्जिनियर नेपालले बताए।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले  सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कूल ८१ किमी दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । 

कूल ४१ दशमलव ४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रेको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । 

सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ । 

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । चार लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आवतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इन्जिनियर नेपालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?