काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जयबहादुर राउतका अनुसार, राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । ‘अहिले त्रिभुवन विमानस्थल आसपासका सडकमा अत्यधिक जाम छ,’ उनले भने ।
अहिले विमानस्थल प्रवेशद्वार गोल्डेन गेटबाटै सडक एकतर्फी गरिएको छ । सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चहलपहल सुरु भएकाले सडक व्यस्त देखिन थालेको छ ।
ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गरे छिटो गन्तव्यमा पुग्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
पूर्वराजाको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसहित विभिन्न संघसस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शन गरिरहेका छन् ।
राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका छन् ।
पोखरामा एक महिना बसाइपछि पूर्वराजा शाह आज दिउँसो साढे ३ बजे हवाई मार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिँदै छन् । राजावादीहरूले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगन्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरू पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया