काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको बताएका छन् ।
सोमबार नेपाल टेलिकमको २१औँ वार्षिकोत्सव समारोह बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले सरकारले सार्वजनिक संस्थाहरू सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत् प्राधिकरण जस्ता संस्थाहरूमा सर्वसाधारणको स्वामित्व २५ प्रतिशत पुर्याउने योजना सरकारको रहेको बताए ।
उनले टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको रहेको भन्दै अब कम्तीमा पनि २५ प्रतिशत सर्वसाधारणको शेयर पुर्याउन आवश्यक रहेको बताए ।
उनले सरकारले विद्युत् प्राधिकरणको पनि २५ प्रतिशत शेयर सर्वसाधारणको लागि दिने तयारी गरेको उल्लेख गरे । उनले संस्थामा जनताको निगरानी बढ्ने र व्यवस्थापनलाई पनि सर्वसाधारण जनता र ग्राहकप्रति संवेदशिल भएर पारदर्शीता कायम गर्नुपर्ने सचेत गराउने बताए ।
उनले नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लाग्न आवश्यक रहेको बताए । उनले टेलिकम भ्वाइस मात्रै नभएर डाटामा पनि लाग्नुपर्ने समय आएको बताए । नेपाल टेलिकमले कार्य क्षेत्र,सेवाको क्षेत्र बिस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्ने धारणा राखे । उनले टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता भएको बताए । टेलिकम बद्लिँदो अवस्थासँगै आधुनिक हुँदै जानुपर्ने बताए ।
उनले सुशासनको लागि प्रमुख काम इकमर्स भन्ने बुझेर सरकारले टेलिकम लगायतको भौतिक पूर्वाधार विकास गर्नु जरुरी रहेको बताए । उनले आईटी क्षेत्रका लागि भौतिक पूर्वाधार बनेर फोरजी सेवा सबै स्थानीय तहको वडासम्म नपुगेसम्म इगभर्मेन्टको अनुभूति जनतालाई लिन नसक्ने बताए ।
उनले टेलिकमले कार्यक्रम बनाएर एक वर्षभित्र फोरजी सेवा गाउँ गाउँमा पुर्याउन सक्नुपर्ने उल्लेख गरे । उनले टेलिकमले गुणस्तरीय फोरजी सेवा ग्रामीण क्षेत्रका घर–घरमा पुर्याउने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे ।
नेपाल टेलिकमको सेवा नपुगेका क्षेत्रमा टावरहरू थप्पदै सेवामा गुणस्तर बनाउन टेलिकमलाई निर्देशन दिए । मधेस प्रदेशका सबै जिल्लामा नेपाल टेलिकमको सेवा बिस्तार गर्न आवश्यक रहेको बताए । ६ हजार ७ सय ४३ वडा कार्यालयहरूमा नेपाल टेलिकमले एक वर्षभित्र फोर जी सेवा पुर्याउनु पर्ने आवश्यकता रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया