नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भेला भएका उद्योग व्यवसायीले देशभरका रुग्ण उद्योग पुनःसञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् । दुई दिनसम्म सञ्चालन भएको नेपाल उद्योग तथा व्यवसाय महासंघको राष्ट्रिय विस्तारित बैठकले उत्पादन बन्द भई रुग्ण अवस्थाका उद्योग सञ्चालन गर्न सरकारसँग आग्रह गरेको हो ।
भेलाले तयार पारेको नौ बुँदे ‘नवलपुर चितवन घोषणापत्र’ आइतबार सार्वजनिक गर्दै राष्ट्रिय भेला संयोजक डा तिलचन्द्र भट्टराईले गैँडाकोटको भृकुटी कागज कारखानालगायत देशभर बन्द अवस्थाका सबै उद्योगलाई सरकार र निजी क्षेत्रको साझेदारी अवधारणामा पुनः सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गरे । उद्योग व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत रुपले व्यवसाय सञ्चालन गर्न चाहे पनि ऐन, कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले सहज किसिमले समस्या समाधान गरिदिन भट्टराईले आग्रह गरे । राष्ट्रिय पुँजी निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना सार्थक बनाउन नेपालका आर्थिक समृद्धिका प्रमुख स्रोतहरू कृषि, पर्यटन, जलस्रोत, आइटी र खनिज क्षेत्रको विकास र न्यायोचित वितरण गर्नुपर्ने बताए ।
नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाट धाम, नारायणी नदी, त्रिवेणी धामसँगै अयोध्यापुरी र राम जन्मभूमिलगायत क्षेत्रलाई समेटी राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । महत्त्वपूर्ण धार्मिक पर्यटकीय र ऐतिहासिक क्षेत्रमा कुनै पनि फोहरजन्य पदार्थ विसर्जन नगर्ने गरी यसको शुद्धता कायम गर्दै पर्यटकीय आर्थिक क्षेत्रको रूपमा विकास गर्न माग गरिएको छ ।
त्यस्तै, कोरोला नाकासहित गण्डकी कोरिडोरलाई व्यवस्थित गर्न तीन तहकै सरकारसँग आग्रह गरिएको छ । नेपालको उत्तर दक्षिणमा रहेका दुई छिमेकीमूलक भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने केरुङ रसुवागढीहुँदै माडी ठोरीसम्मको द्रुतमार्ग निर्माण गरी यो क्षेत्रलाई आन्तरिक र बाह्य व्यापारको प्रमुख व्यापारिक केन्द्र (ट्रेडिङ हब) बनाउन घोषणापत्रमार्फत अपिल गरिएको छ ।
दुई ठूला प्रमुख राजनीतिक दल सहभागी भई निर्माण भएको सरकारले छोटो समयमा नै आर्थिक क्षेत्रमा देखिएको अन्योलग्रस्त अवस्थालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने गरी आशाका किरण प्रवाह गर्न थालेकोप्रति उद्योग व्यवसायीले खुसी व्यक्त गरेका छन् । अझै पनि लगानीको वातावरण निर्माण नभइसकेको भन्दै राष्ट्रिय भेलाले आर्थिक गतिविधिमा अवरोध ल्याउने विरोधाभासपूर्ण ऐन कानुन र नियमावली संशोधन गर्दै व्यवसायमैत्री कर प्रशासन ल्याउन माग गरेको छ ।
दुई दिनसम्म चलेको भेलाले उद्योग व्यवसायीका वर्तमानका चुनौतीलाई सामना गर्दै अवसरको रूपमा विकास गर्नसक्ने चुस्तदुरुस्त संगठन निर्माण गर्न विधान परिमार्जन गरिएको महासंघका संयोजक भागिरथ सापकोटाले बताए। देशभरबाट करिब तीन सय ५० प्रतिनिधि सहभागी भएको भेलाको उद्घाटन नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गरेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया