काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं सांसद मेटमणिचौधरी अहिले आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।
केही दिन अघि उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको भूमी भएको अभिव्यक्ति दिएका थिए । उनले नेपालले चुच्चे नक्सा निकालेर भ्रम छर्ने काम गरेको समेत बताएका थिए । उनको अभिव्यक्तिबारे संसद्मा समेत आवाज उठेको छ । उनीलाई एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको छ । महासचिव घनश्याम भुसालले उनलाई स्पष्टीकरण दिन माग गरे बमोजिम उनले स्पष्टीकरण बुझाएका छन् । पार्टीले स्पष्टीकरणबारे अध्ययन गरिरहेका बेला पार्टीका सम्मानीत नेता झलनाथ खनालले पनि उनीमाथी कडा कारबाहीको माग गरेका छन् ।
खनालले मेटमणिको अभिव्यक्ति राष्ट्रघाती रहेको बताउँदै जिम्मेवार नेताबाट मात्र नभइ कुनै साधारण सदस्यबाट भए पनि कारबाहीको भागी हुने बताएका छन् ।
‘यो त स्वरै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देश द्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो । हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो । यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र सुभेच्छुकहरुबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ,’ खनालले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आम कार्यकर्ता र समर्थकबाट चौधरीको अभिव्यक्तिबारे तिखो आक्रोश आइरहेको बताउँदै त्यस्ता व्यक्तिहरुबाट मुक्त गराउन माग गर्दै कारबाहीको मग गरेका छन् ।
‘आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ । यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया