नेपाल आयल निगमका कामदारको हत्या, साथी पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित सखुवामा रहेको नेपाल आयल निगममा कार्यरत कामदारको हत्या भएको छ ।

हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका–३ का ४० वर्षीय राकेशकुमार बर्मा रहेका छन् ।

उनको शव हत्या गरिएको अवस्थामा आज बिहान १० बजेको समयमा डिपोकै कम्पाउण्डभित्र रहेको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले लोकपथलाई जानकारी दिए ।

‘आज बिहान १० बजेको समयमा उनको शव फेला परेको छ । उनी आयल निगममा कार्यरत कामदार हुन्, उनी त्यही नै कम्पाउण्डभित्रको कोठामा साथीसँग बस्दै आएका थिए,’ उनले भने ।

त्यस्तै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीसँगै बस्ने सिरहाको सिरहा नगरपालिका वडा नं ४ का प्रकाश यादवलाई पक्राउ गरिएको डीएसपी अवाले बताए । आपसी विवादमा हत्या भएको हुनसक्ने आशंकामा पक्राउ गरिएको र सोधपुछको काम भइरहेको छ ।

‘आपसी विवादमा बर्माको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । उनीसँगै बस्ने प्रकाश यादवलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?