काठमाडौं । अमेरिकामा २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा त्यहाँको प्रहरीले सीसीटीभी फुटेजमा देखिएका एक जनालाई पक्राउ गरेको छ ।
ह्युस्टन प्रहरीले ती संदिग्धलाई आज बिहीबार ट्राफिक जामको समयमा पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अखबार नेप्योर्कले उल्लेख गरेको छ ।
बुधबार नै प्रहरीले मुना मृत भेटिएको घरबाट शनिबार एक संदिग्ध बाहिरिँदै गरेको तस्बिर सार्वजनिक गरेको थियो । साथै प्रहरीले ती संदिग्ध व्यक्तिलाई देखे खबर गर्नका लागि अपिलसमेत गरेको थियो ।
सीसीटीभी फुटेजअनुसार भोजपुरकी पाण्डे मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका थिए ।
नेप्योर्कका अनुसार, ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएपछि स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले ती संदिग्धलाई पक्राउ गरेको हो ।
ह्युस्टन प्रहरीले उनको पक्राउबारे अरू विषय खुलाएको छैन । आरोपीमाथि अनुसन्धान भइरहेको ह्युस्टन प्रहरीले जनाएको छ ।
हत्याको कारण र उद्धेश्य खुलेपछि पक्राउ परेका व्यक्तमाथि मुद्दा चलाउने बताइएको छ ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ । उनी शनिबारदेखि सम्पर्कविहीन रहेकी थिइन् ।
ती संदिग्ध व्यक्ति पाण्डे प्रेम सम्बन्धमा रहेको भनिएका अमेरिकी युवक नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ ।
पाण्डेकी आमा अनिताले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन् । आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन् । प्रहरीले सिसीटिभीमा हेर्दा ती व्यक्ति नरहेको बताइसकेको छ ।
नेपालिज एसोसिएसन अफ ह्युस्टनका द्रोण गौतमका अनुसार पाण्डेलाई तीनवटा गोली लागेको थियो र उनी ओछ्यानमा टाउको तल पारेर पल्टिरहेको अवस्थामा भेटिएकी थिइन् । उनले भनेका छन्, ‘अनुसन्धानबाट यो कसरी भयो भन्ने कुरा थाहा हुनेछ ।’
पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् । सुरुमा साथीसँग बस्ने गरेकी उनीे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया