काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उर्जाशील व्यक्ति भन्दै उनको नेतृत्वको सरकारले मुलुकमा केही गरिछाड्ने बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
‘कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको छ, यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उही हौँ । छलफल हामीबीच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौं । उर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरिछाड्ने छौं,’ उनले भने ।
यस्तै, उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्धेश्य प्रष्ट पारे । ‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर भनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,’ उनले भने, ‘यो सरकारको उद्धेश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।’
उनले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए । ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुप-यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दा पनि आइहाल्छ,’ उनले भने ।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए । ‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्ने छ । जनताले उचित सेवा पाउन सकुन् । सरकारले सेवा प्रदान गर्ने क्रममा महत्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखकले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया