अभागी बाबु, जसले गर्भमै छाडेका छोरीको आफ्नै भाइले हत्या गरेको समाचार सुन्नु पर्यो

लोकपथ
2.1k
Shares

इटहरी । इटहरी–५ पचरुखीका नवराज लुइँटेल वैदेशिक रोजगारीका लागि विदेश जाँदै गर्दा उनको श्रीमतीको पेटमा आठ महिनाको शिशु थियो ।

परिवार र शिशुको भविष्यका लागि उनले वैदेशिक रोजगारीको बाटो समातेका थिए । तर, दुःखको कुरा, उनी जुन सन्तानको भविष्यका लागि वैदेशिक रोजगारीमा गएका थिए, उनलाई नै देख्न नपाई उनले आफ्नो डेढ वर्षीया छोरी गुमाएका छन्, त्यो पनि आफ्नै सहोदर भाइको हातबाट ।

हो, नवराजका सहोदर भाइ ३० वर्षीय शालिग्रामले उनका डेढ वर्षीया छोरी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर क्रूर हत्या गरेकाले उनले आफ्नो छोरीलाई अब प्रत्यक्ष देख्न पाउने छैनन् । नवराज करिब डेढ वर्षअघि मात्रै वैदेशिक रोजगारीमा गएका हुन् । आठ महिनाको गर्भ छाडेर उनी सन्तानको सुखका लागि विदेश गएको स्थानीयबासी बताउँछन् । तर, आफ्नी छोरीको अनुहार नै हेर्नै नपाई आफ्नै भाइबाट हत्या हुँदा उनी छाँगाबाट खसेजस्तै भएका छन् । छोरीको कलिलो सपना पूरा गर्न विदेशिएका उनी छोरीकै हत्या भएको सुन्दा विह्वल छन् । नवराजको पहिलो सन्तानको रूपमा उनै छोरी थिइन् ।

स्थानीय मनहरी ढकालको घरमा कोठा भाडामा बस्दै आएका शालिग्रामले शनिबार घरमा कोही नभएको मौकामा बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । ‘घरमा कोही नभएको मौका पारी कोठा थुनेर बालिकाको घाँटी र टाउको ब्लेडले चिरेर हत्या गरिएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘घरमा बच्ची नभेटिएपछि खोजी गर्ने क्रममा कोठाभित्र रगत नै रगत देखिएपछि घटना भएको खुलेको छ ।’

उक्त परिवारमा चार भाइ छोरामध्ये घटनामा संलग्न शालिग्राम कान्छा छोरा हुन् । परिवारमा जेठो र माइलो छोरा छुट्टिएर बसेका छन् भने साइँला र कान्छा सँगै थिए । जसमध्ये साइँला छोरा नवराजकी छोरी आइन्सुको कान्छा छोरा शालिग्रामले हत्या गरेका हुन् ।

मृतक बालिकाकी आमा इटहरीस्थित हङकङ मार्केटमा कपडा पसल गर्दै आएकी थिइन् । ‘बालिकाकी आमाले सासूआमाको साथमा छोरीलाई छाडेर पसल जाने गरेकी रहिछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘शनिबार मृतक बालिकाकी हजुरआमा आफ्नी छोरीकहाँ गएको र उनका श्रीमान (बालिकाका हजुरबा)सँग छाडेर गएका रहेछन् ।’

बालिकाका हजुरबुबा घर वरिपरी रहँदा नै उक्त घटना भएको प्रहरी स्रोतले जनाएको छ । ‘हजुरबुबाले नातिनी नदेखेपछि खोजी गर्ने क्रममा घटना भइसकेको रहेछ, ’ ती प्रहरीले भने, ‘पछि ढोका थुनेको पाइएपछि झ्यालबाट हेर्दा उक्त घटना भएपछि मात्रै प्रहरीलाई खबर भएको थियो ।’

परिवारका सबैजनाको इटहरीस्थित हङकङ मार्केटमा कपडा पसल छ । लुइँटेल परिवारका जेठी, माइली र साइँली बुहारीसहित घटनामा संलग्न शालिग्रामको कपडा पसल थियो । ‘एकैठाउँ पसल थियो । शनिबार चाँहि शालिग्राम किन हो पसल गएका रहेनछन्,’ स्थानीयबासी एक महिलाले भनिन्, ‘अरु भाइ कोही विदेश छन्, कोही छुट्टिएर बसेका छन् । माइली बुहारी त्यही घरको अर्को कोठामा छुट्टिएर बस्दै आएकी थिइन् । साइँली बुहारी र कान्छा छोरासहित बुबाआमा बस्दै आएका थिए ।’
लुइँटेल परिवारले आफ्ना चारै भाइ सन्तानका लागि एक–एक वटा घडेरी पनि किनिदिएका थिए । परिवार राम्रै चलिरहँदा अचानक अनपेक्षित घटना हुँदा परिवारजन हाल सम्हालिन नसकेको स्थानीयबासीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार घटनामा संलग्न शालिग्रामलाई पक्राउ गरी म्याद थपिएको छ । उनका अनुसार आइतबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । ‘डिप्रेसनको बिरामी रहेका शालिग्रामले आफ्नै भतिजीको हत्या गरेको खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो,’ उनले भने, ‘घटनास्थल बीभत्स अवस्थामा थियो । त्यही क्रममा घटनास्थलबाटै हत्यामा संलग्नलाई पक्राउ गरेका हौँ ।’

घटनामा संलग्नविरुद्ध डिल्लीप्रसाद लुइँटेलले इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार जाहेरी दिएका छन् ।
मृतक बालिकाको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आइतबार अन्त्येष्टि गरिएको छ । घटनास्थलबाट प्रहरीले ब्लेड बरामद गरेको थियो । ब्लेड के प्रयोजनार्थ किनिएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ‘पक्राउ परेकामाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धान गर्दा डिप्रेसन नै मुख्य कारण हो भन्ने खुलेको छ,’ डीएसपी भण्डारीले भने ।

प्रहरीको अनुसन्धानबाट सालिग्राम मानसिक रोगी रहेको र करिब तीन वर्षअघि उनी घरको छतबाट हाम्फालेको खुलेको छ । ‘हाल पनि उनी डिप्रेसनको औषधि सेवन गरिरहेका कारण र डिप्रेसनमै रहेका कारण घटना हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, ’ प्रहरी प्रवक्ता भण्डारीले भने, ‘यद्यपि हामीले अनुसन्धान जारी राखेका छौँ । अनुसन्धानबाट थप कुरा खुल्न बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?