मृगौला प्रत्यारोपणमा छलाङ मार्दै नेपाल मेडिसिटी अस्पताल

लोकपथ
763
Shares

काठमाठौं । २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरेको नेपाल मेडिसिटी अस्पतालले हालसम्म २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको छ। १७ वर्षीय युवा देखि ६५ वर्षका वृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले हालसम्म १५० भन्दा बढी बिरामीहरु प्रत्यारोपणका लागि आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरेको हो ।

प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमानले
श्रीमतीलाई र श्रीमतीले श्रीमानसहित एकाघरका परिवार र नातागोताले मृगौला प्रदान गर्ने गरेको अस्पतालको भनाइ रहेको छ ।

मृगौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेको छन् ।

त्यस्तै, मृगौला दान गर्नेमा महिला बढि रहेका छन्। दान गर्नेहरुमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।

मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरिका टेस्ट गर्नुपर्ने हुन्छ। एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुनाले अस्पतालमा पुगेर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ।

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकांश बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।

‘८२३ जनामा अधिकांश उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए। अर्को कारण भनेको ग्लोमेरुलो नेफाइटीस, शरीरमा प्रोटिनको मात्रा बढी भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ’, डा. पौडेलले भने।

यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको उनले बताए। विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ उनले बताए ।

निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा. पौडेलको भनाइ छ।

मृगौला प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ। विभिन्न उपचार खर्च जोड्दा बिरामीको सबै खर्च ७ देखि ८ लाख पर्दछ। नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।

‘यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्’ डा।.काफ्लेले भने।

साथै उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको उनले बताए।

पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ। नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाए‌को छ । यीमध्ये तीन लाख मानिसको मृगौलाका दीर्घरोग रहेको छ। हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिका लागि थपिने गरेका छन् ।

पूर्व मृगौला खराव भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ।

विश्व मृगौला दिवसको अवसरमा अस्पतालबाट मृगौला रोगको निदान तथा उपचारमा धेरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पहुंचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?