काठमाडौं । नयाँ सत्ता समिकरण हुने भएसँगै नयाँ गठबन्धन बन्ने भएको छ ।
यसअघिको कांग्रेस माओवादीसहितको गठबन्धन भत्किएर एमालेसहितको गठबन्धन बन्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमालेसहित रास्वपा, जसपा सरकारमा जाने सहमति भएको छ । तर सोही गठबन्धनमा मिलेर अघि बढ्न राप्रपा सकारात्मक भनिए पनि त्यसबारे कुनै तयारी नरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
आफूहरु पूर्वनिर्धातिर कार्यक्रम अनुसार नै आन्दोलनको तयारीमा रहेको र सत्ताको विषयका कुनै छलफल नभएको बताए ।
‘हामीहरु पूर्व घोषणा अनुसारका आन्दोलनको तयारीमा रहेका छौँ । सत्ता समीकरणबारे कुनै तयारी रहेको छैन ।’ उनले भने ।
राप्रपाले केही दिन अघि देशभर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर आन्दोलन गरिरहेको छ ।
नयाँ बन्ने सत्ता समीकरणमा एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने तयारी रहेको छ । साथै जसपाले पनि मन्त्री कसलाई पठाउने भन्ने विषयमा छलफल गरिरहेको छ ।
राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको विषय पेचिलो बन्दा वर्तमान सत्ता गठबन्धन धरापमा परी नयाँ राजनीतिक समीकरण बनेको हो ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एमालेसहित रास्वपा, जसपा लगायतका दलहरुको बैठक जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया