महासमिति बैठकमा भट्टको प्रस्ताव : पार्टीलाई विधानमा चलाउनेदेखि युवालाई रोजगारीमा जोड्नेसम्म

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले विधानमा उल्लेख भए अनुसार तोकिएका सबै बैठकहरु एक दिन पनि ढिला नगरी गरिनुपर्नेमा जोड दिएका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले कांग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि केन्द्रीय समिति र निकायहरुमा युवाको प्रभावकारी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने समेत धारणा राखे ।

‘पार्टीमा युवाको आकर्षण बढाउन निश्चित प्रतिशत सुनिश्चिताको व्यवस्था होस् । पार्टीका युवालाई उत्पादन र रोजगारमा जोड्ने नीति पनि समेटियोस्’, उनले भने ।

नियमित महाधिवेशन नहुँदा योग्य हुँदा हुँदै पनि भ्रातृ संगठनको राजनीतिबाट माथि उठ्न नसकेर पिल्सिएका कांग्रेसी युवाहरुको भावना समेटिनुपर्नेमा उनको जोड छ । ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै कांग्रेस अघि बढ्नुपर्ने उनले बताए ।

यस्तै पार्टी नेतृत्वका लागि उमेर हद, सदस्यदेखि पदाधिकारीसम्म बन्न पाउने समयसीमा तोकिनुपर्ने उनले बताए ।

यस्तै केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रिया बदल्दै वडा तहदेखि नै प्रतिष्पर्धा गर्दै आउनुपर्ने पार्टीभित्र मत बलियो रहेको भन्दै उनले बैठकको ध्याकर्षण पनि गराए । ‘ त्यसले गर्दा केन्द्रीय सदस्य र पदाधिकारीहरु वडा तहदेखि नै प्रतिष्पर्धा गर्दै आउँदा उहाँहरु पनि थप बलसाली हुने र आम कांग्रेसीले सोचे अनुसारको पार्टी नेतृत्व बन्ने देखिन्छ’, उनको भनाइ थियो ।

यस्तै ‘एक व्यक्ति एक पद’ को अवधारणा अनुसार पार्टी अघि बढ्नुपर्ने, भ्रष्टाचारविरुद्ध निर्मम बन्नुपर्ने, मन्त्री पठाउँदा विषयविज्ञ छानिनुपर्नेलगायतमा पनि उनले जोड दिए ।

त्यस्तै महासमिति बैठकमा बोल्दै भट्टले गठबन्धनको आवश्यक्ता नरहेको बताए । गठबन्धनले पार्टीमा दुख गरेका र लोकप्रिय हुँदाहुँदै पनि गठबन्धनको कारण त्यतिकै बस्नुपर्ने अवस्थाको अन्त्यका लागि पार्टीले समयमै ध्यान दिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?