भियतनाम र कम्बोडियाको ६ दिने भ्रमणमा प्रधानमन्त्री ओली, यस्तो छ कार्यतालिका

काठमाडौं । भियतनाम र कम्बोडियाको ६ दिन भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीवार) त्यसतर्फ प्रस्थान गर्दै छन् । 

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको न्यारोबडी विमान एयरबस ३२० बाट भियतनाम र कम्बोडिया भ्रमणमा जान लागेका हुन् । निगमको विमान काठमाडौंबाट भियतनामको राजधानी हनोई पुग्नेछन् ।

भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तोमा प्रधानमन्त्री ओली ६ दिन भ्रमणमा देश बाहिर हुने भएका छन् । 

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनले प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा गरेका छन् । 

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आज भियतनाम जानेछन् । उनी त्यहा वैशाख २६–३० गतेसम्म व्यस्त रहनेछन् ।

भियतनाममा रहँदा उनले आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम बनेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तर्राष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुन लागेको बताइएको छ भने यसबारे परराष्ट्रमन्त्रालयले औपचारिक जानकारी दिएको छैन । 

प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर वैशाख ३० गते नै उतैबाट कम्बोडिया प्रस्थान गर्नेछन् । 

कम्बोडियामा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेटवार्ता गर्ने छन् । 

परराष्ट्रका अनुसार कम्बोडियामा रहँदा पनि प्रधानमन्त्री ओलीले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने जनाइएको छ । 

प्रधानमन्त्री जेठ १ मा बैंककबाट निगमको नियमित उडानमा स्वदेश फर्किने कार्यक्रम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?