काठमाडौं । प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले वीरगञ्न चिनी कारखानाका बारे गलत प्रचारबाजी भएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले वीरगञ्ज चिनी कारखानाकाबारेमा गलत प्रचार भएको रहेछ भन्ने बारे स्थलगत अनुगमनबाट थाहा भएको बताएका हुन् ।
स्थलगत अनुगमनपश्चात कारखानालाई पुनः सञ्चालन गर्न सकिने सम्भावना रहेको उनले बताए । उपसमितिले हिजो (बिहीबार) कारखानाको स्थलगत अनुगमन गरि कारखाना सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको हो ।
सांसद श्रेष्ठले कुनै बेला वीरगन्ज चिनी कारखानाले देशभरको चिनीको मागलाई धानेको भन्दै यसलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नेसमेत बताए ।
२०औँ वर्षदेखि बन्द भएको उद्योगको अवस्था हेर्दा फ्याक्ट्रीभित्र मेसिन छैन, चलाउनै सकिँदैन भनेर फैलाइएको हल्लामात्र रहेको श्रेष्ठको भनाई छ । ‘चिनी मिलसँग जोडिएका प्राविधिक विज्ञ, अनुभवी साथीहरूसँग सरसल्लाह गरेर यो कारखानालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गरेर अगाडि बढ्छौँ,’ सांसद श्रेष्ठले भने ।
यसअघि सरकारले रुग्ण उद्योगहरूको अवस्था हेरेर सञ्चालन गर्ने निर्णय गरेपछि उपसमितिले वीरगन्ज चिनी कारखानाको स्थलगत अनुगमन गरेको हो । २०५९ सालमा वीरगन्ज चिनी कारखाना बन्द भएपछि कारखानाको नाममा रहेका अधिकांश सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ भने भौतिक पूर्वाधार जीर्ण अवस्थामा छन् ।
चिनी मिल सञ्चालन हुँदा निर्माण भएका एक दर्जन गोदाम घर जीर्ण भएर भत्कने अवस्थामा भएको कारखाना प्रशासनले जनाएको छ । कारखानाभित्र लामो समयदेखि सरसफाइ तथा मर्मत सम्भार नहुँदा मेसिनहरू खियाले खाएका छन् भने कारखाना परिसर काँसघारीमा परिणत भएको छ ।
चिनी उद्योग तथा उखु किसान समस्या समाधान र सुझाव उपसमिति संयोजक किसान श्रेष्ठले उद्योग चलाउने विषयमा कुनै कन्जुस्याइँ नगरीकन उपसमितिले काम गर्ने बताए ।
चिनी कारखानाको स्थलगत अनुगमनमा उप–समिति संयोजक किसान श्रेष्ठ, सदस्यहरू गणेश पराजुली, रामशंकर यादव, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, कृषि अनुसन्धान केन्द्र परानीपुरका प्रमुख विश्वेश्वर प्रसाद यादव, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम बाराका वैज्ञानिक जगतबन्धु अधिकारी लगायत वीरगन्ज चिनी कारखानाका पूर्व कर्मचारी तथा मजदुरहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया