नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०औं वार्षिकोत्सव सम्पन्न

लोकपथ
161
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको टेलिकमले जनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले अध्यक्षता गरेका थिए ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानीयतहसम्म सेवा पु¥याउन सहयोग गर्ने सबै कर्मचारी र सम्बद्ध पक्षहरुमा धन्यवाद ज्ञापन गर्दै ग्राहकलाई सर्वसुलभ तथा भरपर्दो रुपमा सेवा प्रदान गर्ने खालका नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु जरुरी भएको बताइन् । पूर्वाधार विकास, सेवा पहुँच र सेवाविस्तार लगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै मन्त्री शर्माले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि आवश्यक कार्य गर्न निर्देशन दिइन् । सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताउँदै मन्त्री शर्माले कम्पनीको प्रगतिलाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना बनाउन पहल गर्नु आवश्यक रहेको बताइन् । कम्पनीको ऐतिहासिक विरासत कायम राख्न र आयमा वृद्धि गर्न सम्पूर्ण संयन्त्र परिचालन गर्न समेत मन्त्री शर्माले निर्देशन दिइन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले कम्पनीले संस्थागत सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए । आन्तरिक कार्य वातावरण चुस्त बनाउँदै निर्णय प्रक्रिया, कार्य पद्धति र संस्थागत संरचनामा सुधार गरी प्रगतिशील संस्थाका रुपमा कम्पनीलाई विकास गर्नुपर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा नेपाल टेलिकमको अहम्भूमिका रहेको उल्लेख गर्दै प्रविधिको परिवर्तनसँगै कम्पनीलाई समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको र सो का लागि नियामक निकायको तर्फबाट सहयोग, समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । सेवाको कभरेज र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उनले यसकालागि टेलिकमकर्मी एकजुट भई लाग्नुपर्ने समेत बताए ।

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) शंकर लामिछानेले प्रतिस्पर्धी वातावरणमा मन्त्रालयलगायतनियामक निकायबाट कम्पनीकालागिआवश्यकनीतिनिर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरे । उनले सकारात्मक कार्य वातावरणको निर्माण गर्न कर्मचारी, व्यवस्थापक र नीति निर्माताबिच ऐक्यबद्धताको आवश्यकता रहेको समेत बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको बताइन् । उनलेएनटी फाइबर सेवालाई थपआकर्षक बनाउन विभिन्न कार्य भइरहेको, हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको र जिल्लावाइज नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना दूरसञ्चार जिल्ला घोषणा गरी तीव्रताका साथकार्य अगाडि बढाइएको बताइन् ।

कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान गरिएको थियो । साथै, कम्पनीमा २० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवापदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?