काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई रिक्त पदपूर्तिका लागि मागबमोजिम विवरण पठाउन निर्देशन दिएको छ । रिक्त पदपूर्तिका लागि सबै स्थानीय तहलाई अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत किरण थापाले जानकारी दिए ।
उनले सबै स्थानीय तहलाई यही वैशाख २० गतेभित्र रिक्त पदपूर्तिका लागि माग आकृति फाराम भरी पठाउन निर्देशन दिइएको बताए ।
मन्त्रालयले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा निजामतीबाट ३१ हजार ४३, साविक स्थानीय निकायका १० हजार ५ सय ४०, साविक जिल्ला विकास समितिबाट एक हजार २ सय ४१ र अन्य सेवाबाट ३ सय १६ तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार सात हजार ६ सय ५० कर्मचारी समायोजन गरिएको थियो ।
स्थानीय तहमा ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरिए पनि १६ हजार १ सय १८ कर्मचारी अपुग छ । मन्त्रालयले सङ्घमा ४८ हजार ४ सय ९ को दरबन्दीमा ४० हजार ७ सय ६९ र प्रदेशमा २२ हजार २ सय ९७ मध्ये १४ हजार ६ सय ५९ समायोजन गरेको थियो । सङ्घमा सात हजार ६ सय ४० र प्रदेशमा सात हजार ६ सय ३८ कर्मचारी अझै अपुग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया