जनशक्ति न औषधि, अस्पतालको सेवा स्वास्थ्य चौकीभन्दा कम

लोकपथ
0
Shares

रामेछाप । रामेछापको दुर्गम गाउँपालिका उमाकुण्ड–२ बाम्तीमा रहेको बाम्ती अस्पतालमा पर्याप्त जनशक्ति, भवन, औषधि र उपकरण अभाव छ । यसले गर्दा बिरामीले उपयुक्त उपचार सेवा पाउन सकेका छैनन् ।

पहिले स्वास्थ्य चौकी रहेको भवनमा बाम्ती अस्पताल राखिए पनि स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाभन्दा अस्पतालको सेवा माथि उठ्न सकेको छैन ।एकमात्र पालिका स्तरको प्रस्तावित अस्पतालको न आफ्नै भवन छ, न त पर्याप्त स्वास्थ्यकर्मी र डाक्टर छन् । स्वास्थ्य चौकीकै छानामुनिबाट बाम्तीले बोर्ड झुण्ड्याएर स्वास्थ्य सेवा दिइरहेको त छ तर, अस्पतालको सेवा स्वास्थ्य चौकीले दिने सेवाभन्दा बढी हुन नसकेको त्यहीँका डाक्टर बताउँछन् ।‘हामी स्वास्थ्य चौकीबाट अलिकति माथि उक्लिएका छौं भनौं, अस्पतालसम्म पुग्न पनि सकेका छैनौं’ बाम्ती अस्पतालका डाक्टर कमलराज रोकाले भने ।

डा. रोका बाम्ती अस्पतालमा विगत दुई वर्षदेखि कार्यरत छन् । तर नाम मात्रको अस्पतालमा नागरिकले अपेक्षा गरेको जस्तो सेवा प्रवाह गर्न नसक्दा उनलाई पनि खिन्न लाग्छ ।नागरिकले काठमाडौंका सुविधासम्पन्न अस्पतालको जस्तै सेवा पालिका अस्पतालमा पाइन्छ भन्ने अपेक्षा राख्छन् अस्पतालमा न पर्याप्त जनशक्ति छ न आवश्यक औषधि उपकरण नै ।

डा. रोकाले भने ‘नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह गर्न सकिँदैन, न हामीसँग पालिका स्तरको जनशक्ति छन् न त औषधि उपकरण नै । हामीले नागरिकलाई कसरी अस्पतालको जस्तो सेवा दिने ? अस्पताल आउने नागरिक आक्रोश र निराशा बोकेर फर्किन्छन् ।’उमाकुण्ड गाउँपालिकाले बाम्ती अस्पताललाई गाउँपालिका स्तरको अस्पताल सञ्चालन गर्ने भनेर काम सुरु गरेको लामै समय भयो । तर, योजना कार्यान्वयन भएको पाइँदैन ।

पहिलो कुरा अस्पताल भवन निर्माणको काम अझै सम्पन्न भएको छैन । स्वास्थ्य चौकीकै भवनबाट बाम्तीको स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । पालिका स्तरको अस्पतालको जनशक्ति पनि छैनन् ।पालिका स्तरको अस्पतालमा २२ जना स्वास्थ्य जनशक्तिको आवश्यकता पर्छ, तर त्यसको आधा जनशक्ति पनि बाम्तीमा छैनन् ।

‘अहिले हामीसँग १० जनाको जनशक्ति छ, पालिका स्तरको अस्पताल बनेपछि २२ जना हुनुपर्छ । त्यसो हुँदा अरू धेरै सेवा प्रवाह गर्न सकिन्छ, अहिले स्वास्थ्य चौकीबाट अस्पताल ठुलै बन्यो तर सेवा ठूलो हुन सकेको छैन, हामी खुम्चिएरै बसेका छौं, डाक्टर रोकाले भने ।

बाम्तीले एक्स–रे तथा ल्याबका केही सेवा उपलब्ध गराएको छ तर, ती पनि पुराना प्रविधिमा आधारित रहेकाले सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीले गुनासो गरे ।

गुणस्तरीय स्वास्थ्य सेवा पालिका स्तरको अस्पतालबाट पाउन नसक्दा त्यहाँका नागरिकलाई अस्पताल हुनु र स्वास्थ्य चौकी हुनु उस्तै उस्तै जस्तो भएको छ ।अस्पतालमा आवश्यक मेसिनको अभावमा अन्दाजकै भरमा सेवा प्रवाह गरिरहेको बताउँछन् डाक्टर रोका । अस्पतालमा भएका स्वास्थ्य उपकरणलाई समेत अपडेट गर्नुपर्नेमा रोकाले जोड दिए ।

‘कतिपय उपकरण अपडेट गर्नुपर्ने छ, कतिपय उपकरण नै थप गर्नुपर्ने छ, अहिले ल्याबका अत्याधुनिक उपकरण आएका छन् । एउटै मेसिनले थाइराइड, ग्लुकोज लगायतका धेरै किसिमका जाँच गर्न सकिन्छ, त्यस्ता उपकरण जोड्न सके नागरिकलाई स्वास्थ्य परीक्षणको लागि काठमाडौं जानु पर्ने बाध्यता पर्दैन थियो । यहीँबाट हामीले गुणस्तरीय उपचार दिन सक्छौ तर, अहिले कतिपय अन्दाजकै भरमा उपचार गर्नुपर्ने अवस्था छ ।’

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बाम्तीलाई पालिका स्तरको अस्पताल बनाउने कामलाई पालिकाले प्राथमिकतामा राखेको बताउँछन् । सुनुवारले बाम्तीसँगै गाउँपालिकाको केन्द्र प्रीतिमा पनि अस्पताल निर्माणको काममा गाउँपालिका गम्भीर भएर लागेको बताए ।उनले यस आर्थिक वर्षमा बाम्ती अस्पतालको भवन निर्माण कामलाई तीव्रता दिई सेवा विस्तार र सुधारको लागि प्रदेश र केन्द्र सरकारलाई समेत सहयोगको लागि आग्रह गरेर गाउँपालिकाले काम गर्ने बताए ।

बाम्तीले गाउँपालिकाको अस्पतालले औपचारिकता नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम समेत प्रभावित बनेको त छ नै बिमित नागरिक स्वास्थ्य परीक्षण गर्न, बीमाको औषधि लिन तथा रिफरल सेवा गाउँबाट पाउाँबाट बञ्चित छन् ।उनीहरू सेवा लिन मन्थली, जिरी र धुलिखेल पुग्नुपर्ने बाध्यता हट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?