मेलम्चीको ठेक्का बीचमै छाडेको इटालियन कम्पनी कर नतिरी भागेको खुलासा

काठमाडौं । मेलम्ची आयोजना ठेक्का बीचैमा छाडेको इटालियन कम्पनी सीएमसी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले कर नतिरी भागेको खुलेको छ । 

सीएमसी कम्पनिले ठूलो करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरी भागेको खुलेको हो । 

कार्यालयका प्रमुख धनिराम शर्माका अनुसार ठूला करदाता कार्यालयले सीएमसीलाई कर तिर्न आउन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ । 

‘हामीले आव २०७१–७२ को कर तिर्न आउन आह्वान गरेका हौं, इटालिएन कम्पनीको करिब १८ करोड बराबरको कर निर्धारण भएको छ’ शर्माले बताए । 

यो आय कर र मूल्य अभिवेद्धि कर (भ्याट) हो भने यसपछिका वर्षको त कर निर्धारण हुनै बाँकी रहेको शर्माले बताए ।  

कार्यालयले सीएमसीलाई पत्र लेख्दै १५ दिनभित्र कर दाखिला गर्न आग्रह गरेको छ । तर, सीएमसीले अहिलेसम्म पत्रको जवाफ दिएको छैन । 

सीएमसीले मेलम्ची आयोजना ठेक्का बीचैमा छाडेरपछि हाल मेलम्ची खानेपानी आयोजनाका काम ठप्प छ । 

गत वर्षको पुस २ गते सीएमसीले कम्पनी आर्थिक संकटमा परेको भन्दै ठेक्का तोडेको पत्र दिँदै साइट छाडेको थियो । 

त्यसपछि सरकारले नै ठेक्का तोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?