कांग्रेसको जागरण अभियान स्थगित

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्रकारको निधन भएपछि भोलिबाट हुने भनिएको जागरण अभियान स्थगित हुने भएको छ ।

ललितपुरको अल्का अस्पतालमा उपचारको क्रममा आज दिउँसो ३ बजे ताम्रकारको निधन भएको हो । 

ताम्रकारको निधनपछि शोकमा परेको कांग्रेसले आज राजधानीमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आकस्मिक बैठकका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा भेला भएका थिए ।

बैठकले भोलिबाट शुरु हुने जागरण अभियान स्थगित गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । ’नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्रकारको असामयिक र दुःखद निधन भएकोले उहाँप्रति गहिरो शोक प्रकट गर्दै भोलि वैशाख ११ गते देशभर एक साथ प्रारम्भ गर्ने भनिएको “हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण अन्तर्गतको एक महिने कार्यक्रमको मिति परिवर्तन गरिएको छ,’ बैठकपाछि जारी विज्ञप्तिमा पौडेलले भनेका छन् ।

जागरण अभियन २५ गतेदेखि शुरु हुने उनले जनाए ।

कांग्रेसका पूर्व कोषाध्यक्ष ताम्रकार बिस. २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।  ताम्रकारले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए । अघिल्लो हप्ता ताम्रकारको स्वास्थ्यस्थिति गम्भीर भएपछि आइसीयुमा भर्ना गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?