मधेशका मसिहा ठान्ने ६ वटा राजनीतिक दल एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) बनेको दुई वर्ष पूरा भएको छ ।
मूलधारको राजनीतिमा विभिन्न उतार–चढाव खेप्दै राजपाले दुई वर्षको आफ्नो यात्रा पूरा गरेको हो ।
मधेशका मुद्दा उठाएर राजनीति गरिरहेका छ दल २०७४ वैशाख ७ गते एक भएका थिए ।
महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई–मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तराई–मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल मिलेर आजकै दिन एकता घोषणा गरेका थिए ।
दुई वर्षको एकीकृत पार्टीको यात्रा त्यति सफल बन्न नसकेको विश्लेषकहरू बताउँछन् ।
विभिन्न उताव चढावकाबीच राजपा नेपालले आफ्नो दोस्रो स्थापना दिवस आज (शनिवार) मनाउँदैछ ।
राजपा नेपालले शनिवार काठमाडौंको डिल्लीबजारको एक होटलमा कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थापना दिवस मनाउँन लागेको हो ।
आफ्नो दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको राजपाको दुई वर्षे राजनीतिक यात्रा कस्तो रह्यो ? कस्तो उचाव चढावको सामना गर्नुपर्यो ? सरकारलाई गरेको समर्थन फिर्ता पछिको यात्रा कस्तो होला ? संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरण कहाँ पुग्यो ? यी विषयमा पार्टीगत रुपमा पनि समिक्षा भएकै होला ।
२०७२ सालमा नेपालको संविधान घोषणा भएदेखि तराई–मधेशको मुद्दा उठाएका राजनीतिकदलहरू आफूहरू कुरालाई संविधानले नसमेटेको भन्दै आन्दोलनरत थिए ।
विभिन्न गठनबन्धन बनाएर आन्दोलन गर्ने क्रममा नै जन्मियो राजपा ।
फुटेरभन्दा जुटेर आन्दोलन गर्दा आफूहरूको मुद्दालाई स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले निर्माण भयो राजपा ।
पार्टी एकीकरण भएको दुई वर्ष वितिसक्दा पनि उनीहरूको माग अझै पूरा हुन सकेको छैन ।
आफ्नो माग पूरा गराउनका लागि सडकदेखि सदनसम्म आन्दोलन जारी राख्ने राजपा अध्यक्ष मण्डलका सदस्यहरु बताउँछन् ।
‘हामी जुन उद्देश्यका लागि एक भएका हौँ, त्यो उद्देश्य पूरा गर्नका निम्ति सडकदेखि सदनसम्म आन्दोलन जारी राख्छौँ । हामी स्थानीय, प्रदेश र केन्द्रीय संसदसम्म आन्दोलन गर्छौं ।’राजपा नेपालका महामन्त्री केशव झाले लोकपथसँगको कुराकानीमा बताए ।
साथै सरकारले आफूहरलाई घोका दिएको समेत उनले बताए ।
सरकारमा रहँदा हरेक हप्ता–१० दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मागबारे जानकारी दिन बालुवाटर पुगेर घचघचाउने गरेको कुरा समेत राजपा महामन्त्री झाले बताए ।
उनले भने, ‘आफ्नो माग सम्बोधन बारे जानकारी गराउँदै सरकारले कहिले भारत भ्रमण पछि, कहिले चीन भ्रमण पछि त कहिले दशैँ अगाडी पूरा गर्ने भन्दै समय मात्र तोक्नु भयो । तर, माग भने सम्बोधन भएन । सरकारले हामिलाई धोका दिए र सरकारलाई गरेको समर्थन फिर्ता लियौँ ।’
आजबाट तेस्रो वर्षमा लागेको राजपाले मूलमन्त्रसहित अगाडी बढ्ने महामन्त्री केशव झाले बताएका छन् ।
उनले भने, ‘संगठन, संघर्ष र समृद्धीलाई मूल मन्त्र बनाएका छै, यसै आधारमा अगाडी बढ्छौ ।’
त्यस्तै भोलि (आइतवार)देखि राजपा पदाधिकारी समितिको बैठक बस्दैछ ।
उता प्रदेश २ मा राजपा र संघीय समाजवादी फोरमको सरकार छ ।
राजपाले पार्टी स्थापना भएको एक वर्षमा महाधिवेशन गर्ने विधानमा उल्लेख गरेको भएपनि पछि विधान संशोधन गरेको थियो ।
संशोधित विधान अनुसार आजबाट महाधिवेशन गर्ने तयारी गरेको राजपाले फेरि पनि महाधिवेशनको मिति एक महिना पछि सार्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया