काठमाडौं । नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गर्ने क्रम बढेकाले उक्त दफा खारेजीको माग गर्दै महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको हो ।
पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।
‘विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ’ महासचिव विष्टद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
त्यस्तै भोलि वैशाख ५ गते (बिहीवार) बिहान ९ः३० देखि १०ः३० बजेसम्म नेपाल पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरिएको छ ।
त्यसपछिका आगामी कार्यक्रम केन्द्रीय समितिको बैठकले तय गर्ने महासचिव विष्टले जानकारी दिए । बैठक भोलि बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया