संसदीय सुनुवााई समिति बैठक : थपलिया र ओझाको सुनुवाई भोलि

काठमाडौं । संघीय संसदको संसदीय सुनुवााई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाई भोलि (बुधवार) हुने भएको छ । 

मंगलवार दिउँसो २ बजे बसेको सुनुवाई समितिको बैठकले सो निर्णय गरेको हो । बैठक भोली (बुधवार) बिहान ११ बजेको लागि बोलाइएको छ । 

साथै भोलि उजुरीकर्तासँगको छलफलपछि थपलियासँग दिउँसो २ बजे छलफल गर्ने समितिले निर्णय गरेको छ । 

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेका छ भने समावेशी आयोगको सदस्यमा सिफारिस ओझाविरुद्ध भने उजुरी परेको छैन । 

संसद सचिवालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तात्कालिन सचिव समेत रहेका थपलियाविरुद्ध परेका अधिकांश उजुरी समायोजनसँग सम्बन्धित रहेको छ ।

समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाइ भने बिहीवार गर्ने भएको छ । 

उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ । 

गत चैत १९ गते बसेको न्याय परिपषदको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा र वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवत्ताद्वय हरिप्रसाद फुँयालका साथै मनोजकुमार शर्माको नाम सिफारिस गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?