काठमाडैं । संघीय संसदको संसदीय सुनुवाई समितिको बैठक आज (मंगलवार) बस्दैछ ।
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस ५ जना र निर्वाचन आयोगका प्रमुख आयुक्तविरुद्ध परेका उजुरी सम्बन्धमा निर्णय गर्दै सुनुवाईको मिति तय गर्न समिति बैठक बोलाइएको हो ।
बैठक आज अपरान्ह २ बजे बस्दैछ ।
प्रस्तावित न्यायाधीशविरुद्ध ५ र प्रमुख आयुक्तविरुद्ध ६ वटा उजुरी परेको संघीय संसद सचिवालयले जनाएको छ ।
न्याय परिषद्ले गत चैत्र १८ गते सर्वोच्चको न्यायाधीशमा हरि फुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो ।
ढुंगानाविरुद्ध २ र फुयालविरुद्ध एक उजुरी परेको छ ।
न्यायाधीश नियुक्ति प्रक्रियामा नै प्रश्न उठाउदै थप २ वटा उजुरी परेका छन् ।
यस्तै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाविरुद्ध ६ वटा उजुरी परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तात्कालिन सचिवसमेत रहेका थपलियाविरुद्ध परेका अधिकांश उजुरी समायोजनसँग सम्बन्धित रहेको संसद सचिवालयले जनाएको छ ।
समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध भने उजुरी परेको छैन ।
संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालकाअनुसार, सबै उजुरी खोल्दै आजको बैठकले अध्ययनपछि उजुरीकर्तालाई बोलाउने नबोलाउने तय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया