विप्लवका कञ्चनपुर नगर सेक्रेटरी रामप्रसाद भट्ट पक्राउ

कञ्चनपुर । विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले आज (शनिवार) पक्राउ गरेको छ ।

भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । “पक्राउ परेका भट्टको साथबाट सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताबसमेत बरामद गरेका छौँ”, उनले भने ।

कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसिभी आगजनीमा संलग्नता भए÷नभएको बारे भट्टसँग सोधपुछको कार्यसमेत शुरु गरिएको छ । भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

साथै विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

मगरलाई शुक्रवार दिउँसो सदरमुकाम तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्र्तीण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।

उनीमाथि अनुसन्धान भइरहेको र आइतबार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताए । पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मुद्दा दर्ताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका छन् ।            
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?