राप्रपाले आज देशभरका स्थानीय तहमा १ घण्टा धर्ना दिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका सबै स्थानीय तहमा १ घण्टा धर्ना दिँदैछ । 

सनातन हिन्दू राष्ट्रको माग गर्दै आन्दोलन गर्दैै आएको राप्रपाले सबै स्थानीय तहमा १ घण्टा धर्ना दिन लागेको हो ।  

राप्रपा अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकामा, वरिष्ठ नेता दिपक बोहराले ललितपुर महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले भक्तपुर नगरपालिका र महामन्त्री राजेन्द्र लिङ्देनले झापाको भद्रपुर नगरपालिकामा धर्नाको नेतृत्व गर्ने गर्दै छन् । 

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार राप्रपाले अधिकांश स्थानीय तहमा प्रभावकारी धर्ना सञ्चालन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई खटाएको छ ।

गत मंगलवार बसेको राप्रपा केन्द्रीय कार्यसम्फादन समितिको बैठकले जनसंघर्षका कार्यक्रममा सामान्य संशोधन र केही कार्यक्रम थप गरेको छ । 

वैशाख ४ र ५ गते २२ बुँदे माग आमजनतालाई जानकारी दिन घरदैलो कार्यक्रम, वैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने र वैशाख ८ गते राजमार्ग र चोकहरुमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम तय भएको विभागका प्रमुख श्रेष्ठले जनाकारी दिए । 

हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमत संग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत २२ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको राप्रपाले हिन्दू राष्ट्रका लागि हस्ताक्षर अभियानको समय थप गरेको छ । 

हिन्दू राष्ट्रका लागि हस्ताक्षर अभियानमका लागि देशैभर माग बढेको भन्दै राप्रपाले हस्ताक्षरको समय थप गर्दै ३० गतेसम्म जारी राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?