पाकिस्तान र बंगलादेशका सभामुखसँग शिष्टाचार भेट

दोहा । सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रियसभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ । 

अन्तर व्यवस्थापिका संघ (आइप्यिू)को १४० औं सभामा सहभागी हुन कतार आएका पाकिस्तानका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन् । 

भेटवार्ताका क्रममा सभामुख महराले नेपाल–पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध घनिष्ठ रहेको चर्चा गर्दै आगामी दिनमा पनि त्यसलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।  

सो अवसरमा दुवै देशका सभामुखहरुले आ–आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गरेका थिए । 

साथै विश्व शान्ति र मानवअधिकारका लागि संसदको भूमिका महत्वपूर्ण हुनेमा दुवै देशका सभामुखको एक मत रहेको थियो । 

सो अवसरमा सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल–पाकिस्तान संसदीय मैत्री संघको नामावली पाकिस्तानका सभामुखलाई हस्तान्तरण गरेका थिए । 

जवाफमा पाकिस्तानका सभामुख असदले आफूहरुले पनि चाँडै पाकिस्तान–नेपाल संसदीय मैत्री संघको गठन गर्ने बताएका थिए । 

उनले नेपालसँगको सम्बन्ध बलियो रहेको भन्दै संसदीय मैत्री संघले कूटनीतिक मात्रै नभई राजनीतिक सम्बन्ध प्रगाढ बनाउन थप टेवा दिने विश्वास व्यक्त गरे । 

साथै नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको जानकारी गराउँदै सभामुखसहितको टोलीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका थिए । 

भेटमा आइपियूमा सहभागी पाकिस्तानका सभामुख असदसहितको संसदीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट आइपियूमा सहभागी नेपाली संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

यसैबीच सभामुख कृष्णबहादुर महराले बंगलादेशको संसदका सभामुख डा. शिरिन शर्मिन चौधरीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?