नेपाल दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट–२०१९)मा विदेशी समुदाय र लगानीकर्ताले नेपाल दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरेको बताए ।

रिपोटर्स क्लब नेपालको २१ औँ वार्षिकत्सवका अवसरमा आज (आइतवार) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञावलीले लगानी सम्मेलनमा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरेकोमा आफूहरुलाई गौरवबोध भएको बताएका हुन् ।  

उनले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताए । 

उनले भने, “सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको छ । यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ ।” 

मन्त्री ज्ञवालीले नेपाललाई कुनै मुलुकसँग वैरभाव नगर्ने र सबैसँग मित्रभाव राख्ने विदेश नीतिको निरन्तरतासहित समृद्धिको यात्रामा अघि बढाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सहयोगको अपेक्षा व्यक्त गरे । 

गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुलुकमा समृद्धिका लागि उचित वातावरण मिलेका जनाउँदै विदेशीको मुख मात्र नताकी नेपालीहरु नै जागृत भएर आर्थिक विकासमा लाग्नुपर्ने बताए । 

काठमाडौंको होटल सोल्टीमा दुईदिन चलेको लगानी सम्मेलनमा ३९ देशका  करिब ६ सय विदेशी लगानीकर्ताहरुको उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?