प्रदेशका कानूनमन्त्री यादवले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

जनकपुरधाम । प्रदेश २ मा लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारका शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् । 

यही चैत १० गतेबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश कानूनमन्त्री यादवले संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका हुन् । 

लगातार दुई दिन एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि मन्त्री यादवले असन्तुष्टि जनाएका हुन् ।

शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै प्रदेशका गृहमन्त्री यादवले संघले षड्यन्त्रपूर्ण तरिकाले प्रदेश २ लाई बदनाम गराउन खोजेको समेत आरोप लगाएका छन् । 

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबुर राउतले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ लाई सरकारले बदनाम गराउन खोजेको बताएका थिए । साथै उनले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने समेत बताएका थिए ।

लगातार एसईई परीक्षा रद्द हुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?