एसईई परीक्षाबारे अनविज्ञ हुन् विप्लव, १६ गते नेपाल बन्द हल्ला कि साँच्चै ?

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले यही चैत १६ गते (शनिवार) नेपाल बन्दको आह्वान गरेको छ । 

तर, चैत १६ गते माध्यमित शिक्षा परीक्षा (एसईई)मा स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा परेको छ । यही चैत १० गतेदेखि एसईई परीक्षा शुरु भएको हो । 

विगतका वर्षहरुमा एसईई परीक्षाका बेला शनिवार बिदा दिने चलन थियो । तर, यस वर्ष भने शनिवार परीक्षा सञ्चालन हुने तालिका सार्वजनिक भएको छ । यद्यपी विप्लव समूहले भने शनिवार नेपाल बन्दको आह्वान गरेको छ । 

विप्लवको नेपाल बन्दको बेला कसरी परीक्षा सञ्चालन गर्ने विषयमा परीक्षा नियन्त्रण कार्यालयमा छलफल शुरु भएको छ । 

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले एसईईको समयमा नेपाल बन्द नगर्न विप्लव समूहलाई आग्रह गरेको छ । 

बुधवार विज्ञप्ति जारी गरी आयोगले एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आग्रह गरेको हो । 

बन्दले आम नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारीलगायतको अधिकार उपभोगमा बाधा पुग्ने भन्द आयोगले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । 

सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न पनि विप्लव समूहलाई आग्रह गरिएको छ ।

चैत १० गतेबाट शुरु भएको एसईई परीक्षा २१ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा चार लाख ७५ हजार परिक्षार्थी सहभागी छन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार र उसको कार्यशैलीले देशको मुहार नफेरीने भन्दै क्रान्तिको उद्घोष गरेका विप्लव के साँच्चै एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचनबारे बेखबर नै थिए त ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?