भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विजय केशव गोखले दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । 

यही चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारतीय विदेश सचिव गोखले नेपाल आउन लागेका हुन् । उनी चैत १४ गते (मार्च २८)मा नेपाल आउन लागेका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइको क्रममा गोखलेले नेपाली अधिकारीहरुसँग भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम तय भएको बताएको छ । 

भारतीय विदेश सचिवको भ्रमणको क्रममा भारतीय सहयोगमा नेपालमा सञ्चालित कार्यक्रम, द्विपक्षीय हितका साथै नेपाल–भारतको उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिको प्रगतिबारे समेत छलफल हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?