काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा दिएको अभिव्यक्तिप्रति सरोकारवालाले आपत्ति जनाएका छन् ।
काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अभियान्ताहरुले नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन परिरहेको अवस्थामा झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको तर्क गरेका हुन् ।
कार्यक्रमका एनआरएनए श्रीराम कँडेलले झाँक्रीजस्ता नेताहरुको कारण आफूहरु विदेशिनु परेको र नेपाल एशियाकै गरिब राष्ट्रमा रुपान्तरित भएको आरोप लगाए । उनले भने ‘नेपालमा सिकेको राजनीतिक संस्कार नै विदेशमा पनि हुर्काउनु भएको रैछ भन्ने परेको छ ।’
उनले कांग्रेस एमाले र माओवादीलगायतका राजनीतिक दलकै संस्कार र प्रवृति एनआरएनएमा देखिएको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘नेपालमा जुन राजनीतिले यो देशलाई बिगार्यो, कमजोर बनायो, अहिले एसियाको एक नम्बर गरिब भइसक्यो । अब विश्वको एक नम्बरमा पुर्याउने दौडमा नेताहरु छन्।’
एनआरएनहरुले विदेशमा बाध्यताले त्यहाँको ग्रिनकार्ड, पिआर लगायतको सुविधा लिएको उनको भनाई छ । त्यहाँको ग्रिनकार्ड, पिआर लिनु नेपालीहरुका लागि रहर नभएर बाध्यता रहेको उनको दाबी छ । त्यहाँको सेवा, सुविधा लिन, बैंक खाता सञ्चालन गर्न लगायतका काममा त्यहाँको स्थायी आवासिय प्रमाण पत्र लिन नेपालीहरु बाध्य हुने उनको भनाई छ ।
नेताहरुले निर्वाचनको समयमै पनि विना पैसा भिषा र टिकट दिने नारा दिएर युवाहरुलाई देशबाट बाहिरिन बाध्य बनाएको उनको आरोप छ ।
‘राजनीति गर्ने रामकुमारी झाँक्रीजस्ताले बुझ्नुपर्ने विषय हो । उहाँहरुजस्ता नेताको कारण आज युवाको अवस्था जर्जर बनेको छ ।’ उनले भने, ‘उनीहरु विदेशमा बस्दैगर्दा त्यहाँको वातावरणले त्यो कागजको खोस्टो घाँडो नहोस् भन्नका लागि त्यहाँको नागरिकता लिइहाले पनि त्यहाँको नागरिकता लिएपछि नेपालको वंशजको नागरिकता स्वत निष्कृय हुने भनेको छ । यसले बाध्यतावस विदेशमा जानेहरुको हृदयमा कुठराघात गरेको छ ।’
त्यस्तै गैरआवासीय नेपाली संघका अभियन्ता कृष्ण खतिवडाले आफूहरुले भित्रभित्रै उठाइरहेको वहस झाँक्रीले सुनामीको रूपमा नेपाली राजनीतिमा ल्याइदिएको भन्दै धन्यवाद व्यक्त गरे । झाँक्रीको अभिव्यक्तिले यो मुद्दालाई हरेक घरघरमा पुर्याएको उनको तर्क छ ।
प्रायः एनआरएनएलाई विदेशमा दुःख नभएपनि आफूहरु आत्मसम्मानका लागि बोलिरहेको उनले बताए । मूलवासीलाई विदेश लखेट्ने र विहारीले देश भर्ने काम भइरहेको उनको आरोप छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले, विश्वका २ सय १ देशमध्ये एक सय ८६ देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको बताए । बेलायतका तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन अमेरिकी नागरिक समेत भएको उनको दाबी छ । हालका बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि अमेरिकाको ग्रिनकार्ड होल्डर भएको उनको भनाई छ । त्यस्तै इमरान खान अमेरिकाको पनि नागरिक हुँदाहुँदै पाकिस्तानको प्रधानमन्त्री बनेको उनले बताए ।
‘संसारमा अहिले २०१ वटा देश छन् । तीमध्ये करिब १५ वटा देशले दोहोरो नागरिकताको सिद्धान्त मान्दैनन् । त्यो बाहेकका देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया