सरकारको निर्णयका कारण मुलुकमा नयाँ द्वन्द्वको विजारोपण भयो : कांग्रेस नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको पछिल्ला निर्णयले देश गम्भीर दुर्घटनामा फस्ने बताएका छन् । 

‘सरकारको कार्यशैली र पछिल्ला निर्णयले देश गम्भीर दुर्घटनामा फस्छ’ उनले भने । 

साथै उनले सरकारको कार्यशैली र पछिल्ला निर्णयविरुद्ध जनताकै तहबाट आन्दोलन आवश्यक रहेको समेत बताए । 

सरकार स्वेच्छाचारी र दम्भको मानसिकताबाट अघि बढेको बताउँदै नेता कोइरालाले सरकारले तत्काल आफुलाई नसच्याए जनताकै तहबाट आन्दोलन शुरु हुने चेतावनी दिए ।

शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता कोइरालाले वर्तमान सरकारका निर्णयका कारण मुलुकमा नयाँ द्वन्द्वको विजारोपण भएको उल्लेख गरे ।

सरकारले गलतबाटो रोजेकाले मुलुकमा समस्या सृजन भएको बताउँदै ‘समस्या समाधानका अनेक उपाय हुँदाहुँदै सरकारले किन गलत बाटो रोज्यो?’ उनले प्रश्न गरे । 

यसैबीच उनले गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेशका गठबन्धनका संयोजक सीके राउतसँग गरेको ११ बुँदे सहमतिको दोस्रो लाइनमा जन अभिमत शब्दको अर्थ जनमत संग्रह नै भएको जिकिर गरेका छन् । 
साथै सीके राउत नेनृत्वका कार्यकर्ताले यसकै आडमा तराई–मधेशमा गृहकार्य शुरु गरिसकेको नेता कोइरालालको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?