विप्लवलाई आतंकारीको बिल्ला भिराउने सरकारको कार्यशैली गलत : नेता पौडेल

तौलिहवा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कार्यशैलीप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । 

राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सीके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको काङ्ग्रेस नेता पौडेलको भनाइ छ । 

नेपाली काङ्ग्रेस कपिलवस्तुले जिल्लाको बाणगङ्गा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई वरिष्ठ नेता पौडेलले सीके राउतले राष्ट्र विखण्डनको नारालाई जनमत सङ्ग्रहमार्फत सिद्ध गर्ने भन्दै अझै हिँड्ने गरेका कारण सरकार सीके राउतसँग नराम्ररी चुकेको बताए । 

उनले विप्लव नेतृत्वको माओवादीलाई पनि प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’लाई आग्रह गरे । 

सो अवसरमा पार्टी नेताहरु डा. रामशरण महत, दीपकुमार उपाध्याय लगायतले सङ्गठन सुदृढीकरणको विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?