रवीन्द्रको श्रद्धाञ्जलि सभामा रसाए धेरैका आँखा

काठमाडौँ– हेलिकप्टर दुर्घटनामा दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस प्राङ्गणमा आज आयोजित श्रद्धाञ्जलिसभामा उपस्थित सबैका आँखा रसाएका थिए ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको सो सभामा उपस्थित सबैका आँखा अधिकारीको सम्झनामा रसाएको थियो । सहभागीले नेता अधिकारी पूरा गर्न नसकेको कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अनेरास्ववियूका पूर्वअध्यक्षको तस्बीरमा माल्यापर्ण गर्न पुगेका सबै विद्यार्थीको अनुहार मलिन देखिन्थ्यो ।

सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले दिवङ्गत भएका अधिकारीले छोडेका कामलाई पूरा गरेमात्र सच्चा श्रद्धाञ्जलि हुने बताए । “ अधिकारी निधन भएको पीडा पोख्दा मेरा आँखाबाट समुद्र बग्न सक्दछ”, नेता गौतमले भने, “तर अब आँखाबाट समुद्र बगाएर हुँदैन । उनका अधुरा सपनालाई पूरा गर्न म सङ्कल्प लिन्छु ।” नेता गौतमले आफू जति समय बाँचे पनि अधिकारीकै उत्तराधिकारी भएर काम गर्ने बताए ।

पूर्वगृहमन्त्री गौतमले पछिल्लो पुस्ताको राम्रो नेताका रुपमा अधिकारी रहेको आफूले पाएको भन्दै जस्तोसुकै परिस्थितिलाई पनि जिम्मेवारीपूर्वक बहन गर्ने कुशलता रहेको उल्लेख गरे ।
राष्ट्रियसभामा नेकपाका सचेतक तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले वैचारिक र साङ्गठनिकरुपमा सबैले भविष्य भएको नेताकारुपमा अधिकारीलाई लिएको बताए ।

 “उहाँमा सिद्धान्त, विचारमा अडिग र व्यवहारमा लचकताको गुण थियो”, भट्टराईले भने, “ सबै मानिस पदमा पुगेर सफल हुन सक्दैनन् । पदमा पुगेपछि अधिकारी जस्तोसुकै परिस्थितिमा पनि आफूलाई सफल बनाउन सक्नुहुन्थ्यो ।”

सभामा त्रिविका उपकुलपति डा तीर्थप्रसाद खनियाँले छोटो अवसरमा पछिल्लो पटक स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा २८ वर्षे उमेरहदबन्दी कायम गर्नमा अधिकारीको भूमिकासमेत रहेको बताए । “

सभामा नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले आफूहरुको पुस्ताको आशा भरोसाको नेताका रुपमा अधिकारीलाई पाएको बताए । गैरेले अधिकारीको नेतृत्वमा आफू अखिलको सचिव भएर काम गरेको उल्लेख गर्दै उनको गलामा फूलमाला लगाउनुपर्ने बेला तस्बीरमा माला लगाउनुपरेको दुःखेसो व्यक्त गरे । गैरेले अधिकारीको नेतृत्वमा भएको विद्यार्थी आन्दोलनलाई बिर्सन नसकिनेसमेत बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष प्रदीप पौडेलले एउटै कमिटीमा रहेर काम नगरे पनि संयुक्त विद्यार्थी आन्दोलनलाई फरक रचनात्मक ढङ्गले लगेको बताए । गायक प्रवीण गुरुङगको हत्या पारस शाहले गरेको भन्दै दरबार हत्यारालाई कारवाही गर्न बुझाएको ज्ञापनपत्रबाट राजतन्त्रविरुद्धको आन्दोलन शुरु भएको उनले बताए ।

अधिकारी त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति रहँदा आफू पनि अमृतसाइन्स क्याम्पसको स्ववियु सभापति रहेको उल्लेख गर्दै नेता पौडेलले भने, “मलाई सभापतिका रुपमा काम गर्न अनेरास्ववियुले बाधा पु¥यारहेका बेला समन्वयत्मक भूमिका उहाँले निभाउनुभएको थियो ।”

सभामा क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले अधिकारीले अखिलको मात्र नभएर समग्र विद्यार्थीको अभिभावक रहेको बताए ।

दुवै सङ्गठनले गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन रवीन्द्र अधिकारीका नाममा रु २० लाखको अक्षय कोष स्थापना गरेको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा अधिकारीको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?