काठमाडौं । शिक्षकहरुको नाममा शैक्षिक सत्रको उत्तरार्ध र पेचिलो समयमा कक्षाकोठा छोडेर शुरु भएको आन्दोलनप्रति अनेरास्ववियु गम्भीर ध्यानाकर्षण गराएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दौ शिक्षा क्षेत्रमा देखापरेका तमाम बिकृति हटाउदै शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्ने र सार्वजनिक शिक्षाको शिर उठाउने प्रावधान सुनिश्चित हुने गरी शिक्षा ऐन आउनुपर्ने भन्दै संघीय शिक्षा ऐन अन्तिम तयारीमा रहेको जानकारी दिएका हुन् ।
यसैगरी शिक्षकहरूलाई पनि शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वतः स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्विकारेर अगाडि बढ्न अनुरोध गरिएको छ ।
संयुक्त प्रेस विज्ञप्ति
संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारीमा छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको स्पिरिट बमोजिमको शिक्षा ऐन आउनुपर्छ भन्ने हाम्रो दृढ मान्यता छ । शिक्षा क्षेत्रमा देखापरेका तमाम बिकृति हटाउंदै शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्ने र सार्वजनिक शिक्षाको शिर उठाउने प्रावधान सुनिश्चित हुने गरी शिक्षा ऐन आउनुपर्छ ।
देशभर रहेको करिव चालिस हजार राहत शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा परिणत गर्दै (८० प्रतिशत खुल्ला प्रतिस्पर्धा र २० प्रतिशत आन्तरिक ) प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रस्तावित शिक्षा ऐनको प्रावधान रहेको छ । मुलतस् यही प्रावधानका विरुद्ध राहत शिक्षकहरुको नाममा शैक्षिक सत्रको उत्तरार्ध र पेचिलो समयमा कक्षाकोठा छोडेर सुरु भएको आन्दोलनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
राहत शिक्षकहरुको स्वत: स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको हाम्रो निश्कर्ष छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतस् स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुखद अरु हुन सक्दैन । आज सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाउनुभएका शिक्षकहरुले खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ र ? अस्थायी शिक्षकहरुको सन्दर्भमा शिक्षा ऐनको नवौं संशोधन मार्फत बिल्कुलै गलत प्रावधान राखिएको थियो । प्रारम्भदेखि नै हामीले बिरोध गरिरह्यौं । आन्तरिक दरबन्दीमा माग भएको कोटा बमोजिमका शिक्षक समेत उत्तीर्ण नहुनुले शिक्षा ऐनको नवौं संशोधनको प्रावधान गलत रहेको सिद्ध गरिसकेको छ । यस अवस्थामा गलत निर्णयलाई नजिरको रुपमा स्थापित गर्ने अर्को गल्ती नगर्न नेपाल सरकार, शिक्षा मन्त्रालयलाई समयमै ध्यानाकर्षण गराउन चाहन्छौं ।
आदरणीय शिक्षकहरूलाई पनि शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वत: स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्विकारेर अगाडि बढ्न अनुरोध गर्दछौं । आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिको लागि लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्नेगरी बिद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न अनुरोध समेत गर्दछौं ।
यस परिप्रेक्षमा आन्दोलनको दबाबमा शिक्षा क्षेत्रमा हुने कुनैपनि अनुचित प्रकारको सहमति र सम्झौता किमार्थ स्विकार्य नहुने र त्यसको प्रतिरोधमा हामी दुई संगठन सधैं अग्रभागमा रहने ब्यहोरा सम्बन्धित सबै पक्षलाई यसै बिज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं ।
२१ फागुन, २०७५
नविना लामा
अध्यक्ष
अनेरास्ववियु
रञ्जित तामाङ
अध्यक्ष
अनेरास्ववियू (क्रान्तिकारी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया