रुकुम पश्चिम । रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन्। बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो।
‘कति खेर बत्ती जान्छ टुङ्गो हुदैन। आउने जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ,’ स्थानीयवासी गणेश केसीले भने, ‘कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउँदैन,’ उनले भने।
बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको स्थानीय विजुलीका सामान व्यापारीको पनि गुनासो थियो।
‘विद्युतबाट हुने काम कति धेरै छन्। ती काम गर्न निकै गाह्रो छ। ग्राहक काम लिएर आएका हुन्छन्। बत्ती छैन भनेर पठाउनुपर्छ,’ व्यापारी प्रेम खत्रीले भने।
आउने जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ। जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा विद्युत् नहुँदा सेवा दिन मुस्किल भएको कार्यालयको भनाइ छ।
रुकुम पश्चिम र पूर्वका लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौर र जाजरकोटको कुदुदेखि धैरेनीचौरसम्म विद्युत् आपूर्ति हुँदै आएको छ।
अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत् पनि सवस्टेसनमै जोडिएको छ। ३३र११ केभी र तीन एमभीए क्षमताको विद्युत् सवस्टेसन तयार भएपछि जिल्लामा विद्युत् अनियमितको समस्या कम हुन्छ भन्ने आसमा रहेका उपभोक्ता आउने जाने विद्युत्का कारण हैरान भएका हुन्।
धैरेनीचौरमा सवस्टेसन निर्माण नहुँदै यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो। अहिले भने ३३ केभी क्षमताको विद्युत् प्रवाह भएको भनिएको छ तर विद्युत् आपूर्ति भने नियमित छैन।
३३ केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत् प्राधिकरण शेरीगाउँ वितरण केन्द्रले जनाएको छ।
‘यो बत्ती आउने र जाने भइरहने स्थानीयस्तरको समस्या होइन। जिल्लामा विद्युत्लाइन बिग्रिए र सबस्टेसनमा केही समस्या आएमा हामीले तत्काल मर्मत गरेका छौँ,’ केन्द्र प्रमुख शिवजिप्रसाद साहले भने।
हापुरे सवस्टेसन र कुदु सवस्टेसनबाट नै बेला–बेलामा लाइन जाने गरेको उनको भनाइ छ। आइपर्ने समस्या समाधान गर्दै आए पनि विद्युत् आपूर्ति हुने ठाउँबाटै बत्ती नआएको प्रमुख साहले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया