सभामुख पाठकद्वारा बागमती प्रदेशसभाको सर्वदलीय बैठक आह्वान

लोकपथ
49
Shares

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

भदौ २४ गते आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखिएपछि प्रदेशसभाका सभामुख पाठकको अगुवाइमा बैठक सञ्चालनको लागि सर्वदलीय बैठक बोलाइएको हो ।

सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बैठक प्रदेशसभा सचिवालयमा नै बस्नेछ ।

पछिल्लो समय प्रदेशसभा बैठक सञ्चालनमा भइरहेको समस्या समाधानका लागि सभामुख पाठकले सबै दलहरूसँग छलफलको तयारी गरेका हुन् । सचिवालयका अनुसार उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएका छन् ।

गत २ महिनादेखि प्रदेशसभा बैठक आह्वान गरिएपनि सरकार र विपक्षी दलहरू बिच सहमति हुन नसकेपछि बैठक स्थगित हुँदै आएको छ ।

हालसम्म प्रदेशसभा बैठक ३ पटक सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?