सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ, पक्राउ पर्नेको संख्या ३० पुग्यो

लोकपथ
70
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, दुई नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको ६० किलो ७१६ ग्राम सुन उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको डिआइजी कडायतले बताए। योसँगै सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

सीआईबीले तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । यही हप्ताभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउने सीआईबीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?