रक्षामन्त्री पोखरेल र अमेरिकी रक्षामन्त्री फेल्टरबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरबीच आज भेटवार्ता भएको छ । 

सोमवार बिहान सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझै कसरी प्रगाढ बनाउने, नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगका लागि निरन्तरता दिने विश्वास दिए । 

उपप्रधामन्त्री पोखरेलले अप्ठ्यारो स्थितिमा नेपाललाई अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै नेपालका सुरक्षा निकायलाई कसरी व्यवस्थित र सुदृढ बनाउने भन्नेबारेमा पनि विमर्श भएको सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

साथै उनले दुई देशको सैन्य सम्बन्धका लागि सधैँ सहकार्य गर्ने बताए । 

‘नेपालले कुनै पनि अन्तर्राष्ट्रिय र क्षेत्रीय सैन्य संरचनामा सहभागिता जनाउँदैन । तर, नेपाल र अमेरिकाबीचको सैन्य सम्बन्धका लागि सधैँ सहकार्य गर्छौं ।’ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?