सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधिसम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै यसलाई सच्याउन माग गरेको छ ।  

सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पार्ने भन्दै सो विधेयकप्रति कांग्रेसले आपत्ति जनाएको हो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै असर गर्ने प्रावधान राखिएकाले केन्द्रीय समिति बैठकले विरोध जनाएको बताए ।

सो विधेयकका अनुदार प्रावधानहरु तत्काल सच्याउनु पर्ने प्रवक्ता शर्माले बताए । 

उनले भने, ‘सामाजिक सञ्जालको प्रयोगमा रहेका कतिपय वेथिति नियन्त्रण गर्न राज्यले राख्नु पर्ने सर्तकताप्रति कसैको विमति हुन्न तर त्यसका नाममा सामाजिक सञ्जाललाई क्रमशः बन्देज लगाउने स्थितिप्रति कदापि समर्थन जनाउन सकिदैन ।’

विधेयकको परिच्छेद १४ मा भएको सामाजिक सञ्जालसम्बन्धी व्यवस्थामा फेसबुक, ट्वीटरजस्ता सञ्जाल नेपालभित्र दर्ता गरेर मात्रै सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । 

विधेयकमा उल्लेखित व्यवस्थाविपरीत सामाजिक सञ्जाल प्रयोग गरेमा ३० हजारदेखि १५ लाख रुपैयाँसम्म जरिवाना र पाँचवर्षसम्म कैद सजाय हुनसक्ने प्रस्ताव गरिएको छ ।

यसैगरी कांग्रेसले केन्द्रीय समिति बैठकमा सो विधेयक सच्याउन माग गरेको छ । फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान सच्याउन संहिता संशोधनको माग कांग्रेसको छ ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?