नागरिक आन्दोलन सडकमा : नेताहरुलाई उन्मुक्ति नदिन दबाब दिइरहने उद्घोष

लोकपथ
35
Shares

काठमाडौं । भ्रष्टाचार र अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको भद्रकालीमा उनीहरुले भ्रष्टाचार विरुद्ध खबरदारी आन्दोलन गरेका हुन् ।

प्रदर्शनमा ‘भ्रष्टाचारको विरुद्धमा नबोल्नु पनि भ्रष्टाचार हो, गाँउमा स्याल पसे, कुखुरो हराउँछ, संसदमा भ्रष्टाचारी पसे सुन हराउँछ, सिंहदरवारमा सुन छ, पेट मेरो भोकै छ’ जस्ता नारा लगाइएको थियो ।

प्रदर्शनमा सहभागी विष्णु बास्तोलाले केही व्यक्तिहरुलाई हिरासतमा राखेर बयान लिने तर केही व्यक्तिलाई घरमै गएर बयान लिएर चोख्याउँने काम भएको महसुस भएको बताए । यस्तो अवस्था देखेपछि नागरिक जाग्नु पर्छ भनेर आवाज उठाएको उनको भनाइ थियो ।

उनले भने ‘ अहिलेको सन्दर्भमा कुरा गर्दा सुन प्रकरणदेखि बालुवाटारको जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणसम्मको अनुसन्धान चलिरहेको छ । यसक्रममा केही शीर्ष नेताहरुको आत्म व्यवस्थाले काम अगाडि बढेको होकी भन्ने कुरा महसुस नागरिक आन्दोलनले गरेको छ । कृष्णबहादुर महराको नाम पटक पटक जोडिए पनि उहाँलाई अनुसन्धानका लागि समेत बोलाउँने प्रयास भएको छैन् । यसरी तीन दलका नेताहरु बसेर शीर्ष नेताहरुलाई उम्काउँने र यो प्रकरणलाई फितलो बनाउँने गृहकार्य भईरहेको जस्तो पनि देखिएको छ । ’

यस्तै अर्का अभियान्ता एवं बुद्धिजीवी खगेन्द्र संग्रौलाले भ्रष्टाचार र अन्याय गरेर जीवन विताउनु भन्दा सडकमै जीवन विताउनु राम्रो भएको बताए । यो देश भ्रष्टाचारको चाङ्माथि उभिएको चर्चा गर्दै उनले राज्य सञ्चालकका निर्णायकहरुले सानालाई ऐन, ठूलालाई चैनको प्रक्रियाको निमार्ण गरेको आरोप लगाए ।

उनले भने ‘ सर्वोच्च आदालतले पक्राउ पूर्जी जारी गरेका पूर्व मन्त्रीहरुलाई पक्राउ गरिएको छैन् किन, जसको नाममा पूर्जी जारी गरेको छ, उनीहरुलाई छानविनको दायरामा ल्याएको छैन् । यो देश भ्रष्टाचारमा डुबेको छ । यो व्यवस्था कुशासनको लागि नामी भयो, भ्रष्टाचारका लागि नामी भयो, त्यसको कारणले व्यवस्था बद्नाम भयो त्यसको लागि हामी गम्भीर भएर सडकमा आउँनु पर्छ । ’

देशको कुनै पनि संस्था भ्रष्टाचारमुक्त नभएको उल्लेख गर्दै संग्रौलाले सबैको फाईल पल्टाउँने र कारवाही गर्ने हो भने जेलमा ठाँउ नपुग्ने बताए । उनले कारवाहीमा परेकाहरुलाई टुडिखेलमा काडेँ तार बेरेर भेडा बाख्रा जसरी राख्नु पर्ने अवस्था आउने पनि प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?