संसदीय समितिको निर्वाचन ११ गते, यस्तो छ निर्वाचन प्रक्रिया

लोकपथ
210
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिको आगामी भदौ ११ गते निर्वाचन हुुँदैछ ।

आज सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले सो निर्णय गरेको हो ।

जसअनुसार भदौ १० गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रतिनिधि सभाको सम्बन्धित समितिको कुनै पनि सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनि अर्को सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गर्नुपर्नेछ ।

त्यस्तै संघीय संसद सचिवालयले समयअनुसार दर्ता हुन आएका प्रस्तावको दर्ताक्रम अनुसार अपरान्ह ४ः३० बजेसम्म सूची प्रकाशन गर्नेछ ।

त्यसैगरी सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त पस्तावहरु निर्णयार्थ प्रस्तुुत गरिनेछ ।

त्यसैगरी एकभन्दा बढी समितिमा पदेन सदस्य रहेका प्रधानमन्त्री, मन्त्रीहरुले आफू कुन समितिको मतदानमा सहभागि हुने हो सो को लिखित जानकारी भदौ १० गतेभित्र सभामुखलाई उपलब्ध गराइदिन संघीय संसद सचिवालयका सचिव पद्म प्रसाद पाण्डेयले आग्रह गरेका छन् । त्यस्तै प्रतिनिधि सभाको सदस्य नरहेको पदेन सदस्यले उक्त निर्वाचनमा मत दिन पाउने छैनन् ।

भदौ ११ गते संघीय संसदका विभिन्न १० वटा समितिको सभापति चयनका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिनिधि सभा शुरु भएको ८ महिना बितिसक्दा पनि समितिले पूर्णता पाउन नसकेको भन्दै आलोचना समेत भइरहेको छ । सभापति नहुँदा समितिका जेष्ठ सदस्यले बैठक सञ्चालन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?